बालेनलाई शुभकामना छ, पराजयलाई सामान्य रूपमा लिएको छु: केशव स्थापित
काठमाडौं महानगरपालिकाको मेयरका प्रत्याशी केशव स्थापितले आफ्नो पराजयलाई सामान्य रूपमा लिएको बताएका छन्।
वैशाख ३० गते भएको मतदानको शुक्रबार निर्वाचन आयोगले परिणाम सार्वजनिक गरे लगत्तै स्थापितले नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) लाई मतदाताको हरेक मतको सम्मान गर्न आग्रह गरेका छन्।
“म पटक पटक लडेर पनि फेरि धूलो टकटक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु,” स्थापितले भनेका छन्, “निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु।”
एमालेबाट उपमेयरमा निर्वाचित सुनिता डंगोललाई शुभकामना दिंदै स्थापितले भनेका छन्, “तपाईं आशा बोकेको युवा हो, तपाईंले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुनेछ भन्ने विश्वास सहित शुभकामना व्यक्त गर्न चाहन्छु।”
आफूलाई मतदान गर्ने मतदाता, महानगरवासी, चुनावी अभियानमा खटिएका पार्टी नेता तथा कार्यकर्ता, शुभेच्छुक, स्वयंसेवक, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतप्रति पनि उनले धन्यवाद ज्ञापन गरेका छन्।