पुल्चोक क्याम्पसका विद्यार्थीलाई एनसेलको छात्रवृत्ति
एनसेल आजियाटा लिमिटेडले इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ।
एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनीयरिङ सङ्कायमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको हो। १८ जनालाई छात्रवृत्ति प्रदान र ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ। कम्पनीका अनुसार‚ हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
कार्यक्रममा इन्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा. शशीधर राम जोशी‚ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रुपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए। त्यसै गरी एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानून, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए।