पार्टीका नेता तथा कार्यकर्तालाई राजीनामा नदिन रवीन्द्र मिश्रको सुझाव
विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई राजीनामा नदिन सुझाव दिएका छन्।
मिश्रले स्थानीय तह चुनावमा पार्टीले बेहोरेको पराजयका कारण आफूले नैतिकताका आधारमा राजीनामा दिए पनि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई राजीनामा नदिन सुझाएका छन्। पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थालेको र कतिले तयारी गरेको भन्दै मिश्रले त्यसो नगर्न बिहीबार सामाजिक सञ्जालबाट अनुरोध गरेका हुन्।
“पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनुहोला‚” उनले भनेका छन्‚ “कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नुपर्ने हो, मैले त्यही नै गरेको हुँ।”
मिश्रले प्रतिकूलताबाट गुज्रिंदा स्नेह र सद्भाव देखाउने सबैलाई आभार प्रकट गरेका छन्। उनले आफूमा कमजोरी रहे पनि बेइमानी काम भने नहुने प्रतिबद्धता गरेका छन्। उनले आगामी दिनमा कविता, किताब लेख्ने, परोपकारी काम गर्ने र मन लागे सिनेमामा पनि अभिनय गर्न सक्ने बताएका छन्। उनले लेखेका छन्‚ “कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरुँला र, मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरुँला!”