मिलन पाण्डे लगायत नेतामाथिको कारबाही फिर्ता गर्न रवीन्द्र मिश्रको अनुरोध
विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि रवीन्द्र मिश्रले मिलन पाण्डे लगायत केन्द्रीय सदस्यमाथि गरिएको कारबाही फिर्ता लिन पार्टी केन्द्रलाई आग्रह गरेका छन्।
स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको निराशाजनक परिणाम आएको बताउँदै उनले बुधबार नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिएका छन्। अध्यक्षबाट राजीनामा दिएसँगै उनले पार्टी संयोजक पाण्डे लगायत केन्द्रीय सदस्यलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रीय समितिलाई आग्रह गरेका हुन्।
‘मैले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो,’ मिश्रले भनेका छन्, ‘सो दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।’
उनले विवेकशील साझाबाट राजीनामा दिएका नेताहरूलाई पनि पुनः पार्टीमा आउन आग्रह गरेका छन्। मिश्रको दस्तावेजमा असहमति जनाउँदै रञ्जु दर्शना, गोपाल हमाल लगायत नेताहरूले राजीनामा दिएका थिए।
मिश्रले भनेका छन्, ‘दस्तावेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।’