पेट्रोलियम पदार्थको करमा छूट दिएर मूल्य घटाऊ: राप्रपा नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पेट्रोलियम पदार्थको करमा छूट दिएर भए पनि मूल्य घटाउन सरकारसँग माग गरेको छ।
सोमबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पेट्रोलियम पदार्थमा जनतालाई राहत प्रदान गर्न माग गरेको हो। राप्रपा नेपालको निर्णयमा भनिएको छ, ‘छोटो समयमै पटक-पटक पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धिको घोर भर्त्सना गर्दै पेट्रोलियम पदार्थको करमा छूट दिएर भए पनि अनियन्त्रित मूल्यवृद्धि तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो।’
यससँगै राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठकले स्थानीय चुनावको पनि समीक्षा गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिएका छन्। प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचनमा गाई चुनाव चिह्नमै चुनाव लड्ने राप्रपा नेपालले निर्णय गरेको छ।