भरतपुरमा इन्सुरेन्सको कार्यालयमा आगलागी, एक कर्मचारीको मृत्यु
चितवनको भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित शिखर इन्सुरेन्सको शाखा कार्यालयमा आगलागी भएको छ। त्यही क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार दिउँसो १ः१५ बजे आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तेस्रो तलामा रहेको कम्पनीको कार्यालय बाहिर झुन्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको हो।
त्यही क्रममा करेन्ट लागेर इन्सुरेन्समा कार्यरत भरतपुर-१० कटहर चोककी ३५ वर्षीया शकुन्तला पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए।
प्रवक्ता अधिकारीका अनुसार, अर्का कर्मचारी भरतपुर-७ का ३२ वर्षीय तरुण थापा घाइते भएका छन्। उनको मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट कार्यालयका फाइल जलेका छन्। सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका छन्।