महिला हिंसा विरुद्ध पोखरामा पनि प्रदर्शन
आठ वर्षअघि ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि आयोजकबाट भएको बलात्कार तथा यौन दुर्व्यवहारको घटनामा दोषीलाई कारबाहीको माग गर्दै पोखरामा पनि प्रदर्शन गरिएको छ।
मानव अधिकारकर्मी तथा युवाले शनिबार पोखरामा प्रदर्शन गरेका हुन्। उनीहरूले महिला हिंसा तथा बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न र यस सम्बन्धी कानून संशोधन गर्न माग गरेका छन्।
बलात्कारको घटनामा एक वर्षको हद म्याद रहेको छ। उनीहरूले उजुरीको हद म्याद हटाउन माग गरेका छन्।
आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरन्याशनल’ मा सहभागी युवतीमाथि आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो। पीडित युवतीले सामाजिक सञ्जाल टिकटक मार्फत घटना सार्वजनिक गरेकी थिइन्। त्यसमा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको छ।