गृहले भन्यो- आठ वर्षअघिको बलात्कार घटनामा छानबिन शुरू भइसकेको छ
आठ वर्षअघि ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि आयोजकले बलात्कार तथा यौन दुर्व्यवहार गरेको घटनामा छानबिन शुरू भइसकेको गृह मन्त्रालयले जनाएको छ।
शनिबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रेस विज्ञप्ति जारी गरी महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन्। अहिले सार्वजनिक भएको घटनामा पनि छानबिन शुरू भइसकेको उनले बताएका छन्।
आठ वर्षअघि ‘मिस ग्लोबल इन्टरन्याशनल’ मा सहभागी युवतीमाथि आयोजकले नै बलात्कार र यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो। पीडित युवतीले सामाजिक सञ्जाल टिकटक मार्फत घटना सार्वजनिक गरेकी थिइन्।
त्यसमा दोषीलाई कारबाही गर्न माग गरी प्रदर्शन भइरहेको छ। त्यस्तै, प्रतिनिधि सभामा पनि सांसदहरूले यस विषयमा बोलेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभाको बैठकमा घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई निर्देशन दिएका थिए।
यस घटनामा सरकारको ध्यानकर्षण भएको गृह मन्त्रालयले जनाएको छ। ‘वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का समेत रहेको छानबिन समितिले मिति २०७९/०२/०६ गते गठन गरी उक्त समितिले काम शुरू गरिसकेको अवस्था छ,’ गृहले भनेको छ, ‘समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’