‘निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने वातावरण बनाउनू’
निर्वाचन आयोगले नव निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने वातावरण बनाउन निर्देशन दिएको छ।
संविधान अनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल जेठ ५ गतेसम्म मात्र रहने भएकाले यथासम्भव छिटो कार्यभार सम्हाल्ने वातावरण बनाउन उसले निर्देशन दिएको हो।
“जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गरी यथासम्भव निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन भएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जेठ ४ गते जारी विज्ञप्तिमा भनिएको छ।
निर्वाचन सम्पन्न भएकामध्ये ४६० पालिकाको सम्पूर्ण परिणाम प्राप्त भइसकेको पौडेलले जानकारी दिए।
मतगणना सुस्त भएको महानगरपालिका र उपमहानगरपालिकामा पनि सकेसम्म बढी मतगणना टोलीको व्यवस्था गर्न आयोगले निर्देशन दिएको छ।