रक्तसञ्चार विज्ञ डा. नेपाल राष्ट्रिय प्राविधिक सल्लाहकार समिति सदस्य नियुक्त
सरकारले ब्लड ट्रान्सफ्युजन मेडिसिनका विशेषज्ञ डा. विपिन नेपाललाई राष्ट्रिय प्राविधिक सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेको छ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै डा. नेपाललाई सल्लाहकार समिति सदस्यमा नियुक्त गरेको हो। “रक्तसञ्चार विज्ञ नीतिगत तहमा नभएको अवस्थामा यो निर्णयले खुशी लागेको छ, तर दरबन्दी सिर्जना गरेर रक्तसञ्चार केन्द्रमा खटाएको भए जनशक्ति उत्पादन र अन्य नीतिगत काम गर्न सहज हुन्थ्यो,” नियुक्तिको पत्र पाएको बताउँदै डा. नेपालले भने।
ग्रान्डी अस्पताल बाहेक ११७ वटा रक्तसञ्चार केन्द्रमा कतै पनि ब्लड ट्रान्सफ्युजन मेडिसिन पढेका विशेषज्ञ छैनन्। जसका कारण रक्तसञ्चार केन्द्रले तोकिएको मापदण्ड पालना नगरी रगत सङ्कलन, भण्डारण, प्रशोधन र वितरण हुने गरेको छ।
मापदण्ड नपुर्याई गरेको यस्तै खेलाँचीको कारण अत्यन्तै जटिल अवस्थामा रहेका बिरामीलाई चढाइने रगतमा गडबडी भएर गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको थियो। रगत सम्बन्धी गडबडीले हुने अकाल मृत्यु तथा सङ्क्रमण र सरुवा रोग (एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिस) सरिरहँदा समेत राज्यले कुनै अनुगमन गरेको थिएन।
रक्तसञ्चार केन्द्रहरूको सञ्चालन, अनुगमन र नियमनको जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरोलाई तोकिएको छ। विज्ञ जनशक्ति नभएकाले ब्यूरोले तोकिएको काममा अग्रसरता लिएको थिएन।
रक्तसञ्चार सेवा सञ्चालनको मापदण्ड २०७६ अनुसार, ब्यूरोलाई मापदण्ड निर्माण, अनुगमन र नियमनमा राष्ट्रिय निर्देशक समिति र राष्ट्रिय प्राविधिक सल्लाहकार समितिले सघाउने उल्लेख छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको अध्यक्षतामा राष्ट्रिय निर्देशक समिति छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को निर्देशकको नेतृत्वमा राष्ट्रिय प्राविधिक सल्लाहकार समिति छ। डा. नेपाल सचिव स्तरीय निर्णयबाट राष्ट्रिय प्राविधिक सल्लाहकार समितिमा नियुक्त भएका हुन्।
यो समितिले रक्तसञ्चार केन्द्रका लागि मापदण्ड बनाउने र सोही अनुसार काम गरेको छ/छैन भनेर अनुगमन गर्ने गर्छ। त्यसै गरी रक्तसञ्चार सम्बन्धी ऐन-कानून र रगतको कारण आएका गडबडीको विषयको अध्ययन गर्छ।
विशेष रिपोर्ट पढ्नुहोस् :