बजेटको लक्ष्य पुर्याउन दुई महीनामा २ खर्ब ५९ अर्ब खर्च गर्नुपर्ने
सरकारले बजेटको लक्ष्य अनुसार काम गर्न अब जेठ र असारमा दुई खर्ब ५९ अर्ब खर्च गर्नुपर्नेछ।
चालू आर्थिक वर्ष सकिन दुई महीना बाँकी छ। दुई साताभित्रै नयाँ आर्थिक वर्षका लागि बजेट पनि घोषणा हुँदै छ।
तर, चालू आर्थिक वर्षको बजेट कार्यान्वयन असाध्यै निराशाजनक छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार, वैशाख मसान्तसम्म विकास लक्षित पूँजीगत खर्च एक तिहाइ पनि पुगेको छैन।
यो वर्ष पूँजीगत शीर्षकमा रु.तीन खर्ब ७८ अर्ब रकम विनियोजन गरिएकोमा ३१ वैशाखसम्ममा रु.एक खर्ब १८ अर्ब मात्रै खर्च भएको छ। अर्थात्, कुल विनियोजनको ३१.२८ प्रतिशत मात्रै खर्च भएको छ। अब बाँकी दुई महीनामा लक्ष्य अनुसार काम गर्न झण्डै रु.दुई खर्ब ५९ अर्ब बजेट खर्च गर्नुपर्नेछ।
हरेक वर्ष पूँजीगत बजेट लक्ष्य अनुसार खर्च नहुने प्रवृत्ति चल्दै आएको छ। ठूलो रकम वर्षान्तका अन्तिम दुई महीनामा खर्च हुन्छ। वर्षान्तका अन्तिम समयमा खर्च हुँदा कामको गुणस्तर नहुने र खर्चको दुरुपयोग हुने जोखिम पनि हुन्छ।
लक्ष्य अनुसार पूँजीगत खर्च नहुनु भनेको विकास निर्माणका काम अपेक्षित गतिमा अघि नबढ्नु हो। पूँजीगत खर्च नहुँदा रोजगारी सिर्जना पनि हुन पाउँदैन।
सरकारले यो वर्ष रु.१६ खर्ब ३२ अर्बको बजेट सार्वजनिक गरेको थियो। त्यसमध्ये वैशाख अन्तिमसम्म ५५.६ प्रतिशत मात्रै खर्च भएको छ। तलबभत्ता लगायत काममा जाने चालू खर्च भने लगभग लक्ष्य अनुसार नै भएको छ।
सरकारले यो वर्ष रु.११ खर्ब ८ अर्ब राजस्व आम्दानी गर्ने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्म रु.आठ खर्ब ६६ अर्ब सङ्कलन भएको छ। अर्थात्, लक्ष्यको ७३.३ प्रतिशत राजस्व सङ्कलन भएको छ। बाँकी दुई महीनामा लक्ष्य भेट्ने राजस्व सङ्कलन गर्न मुश्किल पर्ने देखिन्छ।
सरकारले यो वर्ष रु.५९ अर्ब ५९ अर्ब ९१ करोड विदेशी सहायता आउने अनुमान गरेकोमा जम्मा रु.१३ अर्ब ८८ करोड (२३.१७ प्रतिशत) मात्रै आएको छ।