थासाङ गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
जेठ १ गते सम्पन्न मतगणना अनुसार, अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १४४ मत ल्याएर विजयी भएका हुन्। उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अध्यक्षमा कांग्रेसका उम्मेदवार बालकुमारी शेरचनले एक हजार ५५ र उपाध्यक्षमा एमालेका उम्मेदवार सुमिता शेर्पाले एक हजार ८० मत पाए।
गत स्थानीय तह चुनावमा थासाङको अध्यक्ष-उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जितेको थियो। थासाङको वडा नं १ मा कांग्रेसका सुरेश थकाली, २ मा एमालेका गौतम शेरचन, ३ मा कांग्रेसका हरिप्रसाद गौचन, ४ मा कांग्रेसकै नरेन्द्र शेरचन र ५ मा कांग्रेसका रूपेश तुलाचन विजयी भएका छन्।
दुई हजार ७४७ जना मतदाता रहेको थासाङ गाउँपालिकामा शुक्रबार भएको मतदानमा दुई हजार २४० मत खसेको थियो। मुस्ताङका पाँचवटै स्थानीय तहको मतगणना सकिएको छ। घरपझोङ गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा कांग्रेस, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा एमालेले जितेका छन्।रासस