राजधानीमा महिलाले हारे दुनियाँले के भन्ला: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजधानीमा महिला हारे दुनियाँभर नराम्रो सन्देश जाने बताएका छन्।
काठमाडौंमा शुक्रबार पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई जिताउनुपर्नेमा जोड दिए। सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस नेत्री सिंह मेयरकी उम्मेदवार छिन्।
“राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो। राजधानीमा महिला हार्नु हुँदैन,” प्रधानमन्त्री देउवाले भने, “राजधानीमा महिला हार्यो भने राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्ले के भन्ला, दुनियाँले के भन्ला!”
उनले मेयरकी उम्मेदवार सिंहलाई कांग्रेस नेता प्रकाशमान सिंहसँग नजोड्न पनि आग्रह गरे। उनी विद्यार्थीदेखि नै राजनीतिमा लागेकी योग्य व्यक्ति भएको देउवाको भनाइ थियो। “प्रकाशमान सिंहसँग बिहे गर्नु सिर्जनाको गल्ती थियो भने भन्नुस्। आमाबुबाले बिहे गरिदिए त के गर्नु?” योग्य महिला भएकीले नै सिंहलाई उम्मेदवार बनाएको देउवाको भनाइ थियो।
उनले काठमाडौंमा सिंहलाई र भरतपुरमा रेणु दाहाललाई जिताउनुपर्ने बताए। गत पाँच वर्षमा रेणुले राम्रो काम गरेको देउवाको भनाइ थियो। “भरतपुरमा रेणुले कति राम्रो काम गरेकी छन्। त्यति राम्रो काम गर्ने महिलालाई हुँदैन भन्छन्। पुरस्कार दिनुपर्ने हो,” देउवाले भने।