दिगो विकास लक्ष्य अनुसार मातृशिशु मृत्युदर घटाउन मुश्किल
नेपालले गत २५ वर्षमा मातृशिशु मृत्युदर घटाउन उल्लेखनीय सफलता हासिल गरे पनि दिगो विकास लक्ष्य पूरा गर्न भने कठिन हुने स्वास्थ्यकर्मीले बताएका छन्।
दिगो विकास लक्ष्य अनुसार, सन् २०३० सम्म प्रति लाख जीवित जन्ममा हुने मातृशिशु मृत्युदर ७० सम्म घटाउनुपर्छ। तर, गर्भवतीलाई स्वास्थ्य क्षेत्रले बिरामीका रूपमा हेर्दा समस्या भएको मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङले बताइन्।
अन्तर्राष्ट्रिय मिडवाइफ दिवसको अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले हाल अस्पतालहरूले शल्यक्रिया मार्फत बच्चा जन्माउनमा जोड दिइएकोमा उनले चिन्ता जनाइन्। शल्यक्रिया विना प्रसूति गराउन सकिने प्रयास गर्नुपर्नेमा उनको जोड थियो।
अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २० प्रतिशत, नर्भिक अस्पताल र ओम हस्पिटल तथा रिर्सच सेन्टरमा ९० प्रतिशत तथा त्रिवि शिक्षण अस्पतालमा ५० प्रतिशत र पाटन अस्पतालमा ४५ प्रतिशत शल्यक्रिया मार्फत बच्चा जन्मिने गरेको उनले तथ्याङ्क प्रस्तुत गरिन्।
त्यस्तै, नर्मल प्रसूति गराउने, सुत्केरी अवस्था र नवजात शिशुको हेरचाह गर्ने व्यावसायिक मिडवाइफ्रीलाई सरकारले आफ्नो प्रजनन तथा मातृशिशु कार्यक्रममा नराखेको गुनासो गरिन्। “मातृशिशु मृत्युदर कम गर्न विश्वभर मिडवाइफको प्रयोग गरिन्छ, तर नेपालमा पुरातनदेखि प्रयोग हुँदै आएको यो कलालाई बेवास्ता गरिएको छ,” उनले भनिन्।
हाल नेपालमा २३९ आमाशिशुको मृत्यु हुने गरेको छ। सन् २०३० सम्म मृत्युदर ७० मा झार्न नेपालले हरेक वर्ष १२ प्रतिशतको दरले कम गर्नुपर्ने हुन्छ।
नेपालमा सन् २०१७ देखि मिडवाइफको अध्ययन अध्यापन शुरू भएको हो। हाल २८ जना मात्र मिडवाइफ उत्पादन भएका छन् भने काठमाडौं विश्वविद्यालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४२ विद्यार्थी अध्ययनरत छन्।
नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीतिमा सुरक्षित मातृत्व सेवाका लागि सन् २०२५ सम्म चार हजार १८० र सन् २०३० सम्म ६ हजार ४१० मिडवाइफ उत्पादन गर्न आवश्यक भएको आकलन गरिएको छ। मिडवाइफमा लगानी गर्दा मातृशिशुको ज्यान जोगिने डा. तामाङले बताइन्।