कोरोना महामारीले बालिका थप जोखिममा: युनिसेफ
कोभिड-१९ को महामारीले बालिकालाई थप जोखिममा पारेको युनिसेफले जनाएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले वक्तव्य जारी गरी कोभिड-१९ का कारण विद्यालय बन्द, आर्थिक तनाव तथा सेवामा अवरोधले सबैभन्दा कमजोर बालबालिकाको स्वास्थ्य र भविष्यलाई जोखिममा पारेको जनाएकी छन्।
संसारभर एक करोड १० लाखभन्दा बढी बालिका महामारीपछि विद्यालयमा फर्कन नसक्ने युनिसेफले जनाएको छ। त्यस्तै, अर्को दशकमा थप एक करोड बालिका बालविवाहको जोखिममा रहेको युनिसेफको आकलन छ।
युनिसेफले भनेको छ, ‘बन्दाबन्दीले बालबालिकालाई आफ्नो घरमा बढी समय बिताउन बाध्य तुल्याएको हुनाले, बालिकाहरूले अधिक मात्रामा घरेलु कामको बोझ उठाइरहेका छन्। तीमध्ये धेरैजना आफ्ना दुर्व्यहारकर्तासँग नजिक र सुरक्षा प्रदान गर्न मद्दत गर्ने सेवाहरू र समुदायबाट अलग हुन बाध्य छन्। लैङ्गिकतामा आधारित हिंसाका साथमा यौनहिंसा पनि बढ्दै गएको छ।’
यो महामारीबाट बालिकालाई केन्द्रमा राखेर योजना बनाउनुपर्ने रसेलले बताएकी छन्। “हामी बालिकाहरूको एक सम्पूर्ण पुस्तालाई उनीहरूको बाँकी जीवनका लागि यो महामारीको नकारात्मक परिणाम वहन गर्न दिन सक्दैनौं,” रसेलले भनेकी छन्, “महामारीपछिको समयतिर काम गर्ने क्रममा बालिकाहरूलाई विश्वव्यापी, राष्ट्रिय र स्थानीय महामारी सम्बन्धित प्रतिक्रिया तथा पुनःस्थापनाका योजनाहरूको केन्द्रमा राख्नुपर्छ।”
बालिकाको सुरक्षाका लागि विद्यालय खुला राख्न, स्वास्थ्य शिक्षा तथा हिंसाबाट जोगाउन थप लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ।