पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु
इलाममा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
झापाबाट इलाम आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडकदेखि करीब पाँच सय मिटर तल खसेको छ। मेची राजमार्गको रोङ गाउँपालिका-४ पहिरोमा भ्यान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।
दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको मृत्यु भएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको थापाले बताए।
चालक मेचीनगर-४ का ३३ वर्षीय अर्जुन कोइराला गम्भीर घाइते छन्। उनलाई उपचारका लागि झापाको बीएन्डसी अस्पताल लगिएको छ।