मेरो अभिव्यक्तिले भ्रम पर्न गएकोमा दुःखी छु: मन्त्री रेणु यादव
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार दोहोर्याउने आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभएको र यसलाई सामान्य रूपमा लिन आग्रह गरेकी छन्।
५ माघमा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि यादवले सोमबार विज्ञिप्त मार्फत भविष्यमा सचेत रहने प्रतिबद्धता जनाएकी हुन्।
“मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु,” यादवले भनेकी छन्, “साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु। आगामी दिनमा यसप्रति सचेत रहनेछु।”
मन्त्री यादवले दुःख व्यक्त गरेर निकालिएको विज्ञिप्तको अधिकांश अंश भने आफ्नो भनाइलाई अतिरञ्जित र अपव्याख्या गरिएको भन्नेमा केन्द्रित छ।
विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाले पदबाट बर्खास्त गर्न माग गरेपछि यादवले यस्तो विज्ञप्ति जारी गरेकी हुन्। यादवको दल जनता समाजवादी पार्टीले भने जनमत पार्टीलाई आरोपित गरेर विज्ञिप्त जारी गरेको थियो।