गण्डकी प्रदेशका ३ सय स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण
कोरोनाभाइरसको तेस्रो लहरसँगै गण्डकी प्रदेशमा तीन सातामा तीन सय चिकित्सक र नर्स लगायत स्वास्थ्यकर्मीलाई सङ्क्रमण भएको छ।
कोरोना सङ्क्रमितको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सङ्क्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमा फैलिइरहेको अवस्थामा अग्रभागमा स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ।
पोखरामा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच जना स्टाफ नर्स सहयोग गरेको छ। केही दिनअघि नेलम्बोले सरुवा तथा सङ्क्रामक अस्पताललाई समेत चार जना स्वास्थ्यकर्मी सहयोग गरेको थियो।
केही दिनयता सङ्क्रमण बढ्दै जाँदा प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएर स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको छ।
आइतबार देशभर १७ हजार ४३७ जनाको स्वाब परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।