रेणु यादवलाई मन्त्रीबाट नहटाउनु आपत्तिजनक : एमाले
नेकपा (एमाले) ले सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पदबाट बर्खास्त नगर्नु आपत्तिजनक रहेको टिप्पणी गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी विज्ञप्तिमा मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारबाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ।’
मन्त्री यादवले ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा गौर नरसंहार दोहोर्याउने धम्की दिएकी थिइन्। २०६३ चैतमा तत्कालीन मधेशी जनअधिकार फोरमले माओवादी समर्थित २८ जनाको हत्या गरेको थियो।