गुडिरहेको बोलेरोमाथि ढुङ्गा खस्दा दुई बालबालिका सहित तीनको मृत्यु
ओखलढुंगामा गुडिरहेको बोलेरोमाथि ढुङ्गा खस्दा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
आइतबार मानेभन्ज्याङ गाउँपालिका-१ मोलीबाट ओखलढुंगा बजारतर्फ जाँदै गरेको को.१ज ३५६९ नम्बरको बोलेरोमाथि ढुङ्गा खसेको थियो। ढुङ्गाले बोलेरो किचिंदा सिद्धिचरण नगरपालिका-१ तलुवाकी ७ वर्षीया युनिशा कोइराला, १० वर्षीय युसव कोइराला र मोलीका ३० वर्षीय हेमबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले बताए। बोलेरोमा ६ जना सवार रहेको उनले जानकारी दिए।
दुर्घटनामा तलुवाकी लक्ष्मी कोइराला, मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठ घाइते भएका छन्। गम्भीर घाइते देवबहादुर र सञ्जीवलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ।
ओखलढुंगाको मिलनचोक-निशंखे सडक ग्राभेलको ठेक्का लिएको कान्छाराम कन्सट्रक्सनले सडक माथिबाट डोजर/स्काभेटर प्रयोग गरेर ढुङ्गा झिकिरहेको छ। निर्माण कम्पनीले सुरक्षाको ख्याल नगरी ढुङ्गा झिक्दा दुर्घटना भएको सिद्धिचरण नगरपालिका-३ का वडा सदस्य शिवकुमार बानियाँले बताए।