एमालेले औंल्याएका यस्ता छन् सरकारका १५ कमजोरी
पाँच दलीय गठबन्धन सरकारको ६ महीनाको समीक्षा गर्दै नेकपा (एमाले) ले विभिन्न कमजोरी औंल्याएको छ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्य जारी गर्दै मुलुक गहिरो सङ्कटतिर धकेलिंदै गएको जनाएका छन्। सरकारको ६ महीनाको समीक्षा गर्न एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने तय भएको थियो।
अध्यक्ष ओलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएपछि पत्रकार सम्मेलन स्थगित गरेर प्रेस वक्तव्य जारी गरिएको हो। वक्तव्यमा भनिएको छ, “शक्ति पृथकीकरण र राज्यका अङ्गहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रा बाह्य सम्बन्ध र शान्ति-सुरक्षाको अवस्था लगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेका छन्।”
राज्यका तीन वटै अङ्ग सङ्कटोन्मुख हुँदा राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको एमाले अध्यक्ष ओलीले औंल्याएका छन्। ओलीले भनेका छन्, “राज्यका तीन वटै अङ्गहरू आज सङ्कटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको छ।”




