गौर नरसंहार दोहोर्याउने मन्त्री यादवको अभिव्यक्तिको जसपाद्वारा बचाउ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको विवादित अभिव्यक्तिबारे उनी आबद्ध दल जनता समाजवादी पार्टी (जसपा) ले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
शनिबार जारी विज्ञप्ति हेर्दा मन्त्री यादवले जसपाकै आधिकारिक धारणा राखेको जस्तो देखिन्छ। “...जनता समाजवादी पार्टीका नेता केन्द्रीय कार्यकारिणी समितिका सदस्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढङ्गबाट लाठी, भाटा, ढुङ्गा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतङ्क मच्चाउने र हिंसा भड्काउने जस्ता गैर-राजनीतिक एवं आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए,” जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
२०६३ सालमा माओवादी समर्थित २८ जनाको ज्यान जाने गरी भएको घटना दोहोर्याउने मन्त्री यादवको अभिव्यक्तिको जसपाले धम्कीपूर्ण विज्ञप्ति मार्फत बचाउ गरेको छ। जसपाले यादवलाई होइन, सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग गरेको छ।
“जनता समाजवादी पार्टी, नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ता विरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न समेत सचेत गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “यस्ता आपराधिक एवं गैर-राजनीतिक, अराजक, गैर-कानूनी, असामाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ।”
विभिन्न राजनीतिक दल, नागरिक अगुवा लगायतले भने हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवलाई तत्काल पदमुक्त गरेर कानूनी कारबाही गर्न माग गरेका छन्।