जनमोर्चाद्वारा मन्त्री यादवको अभिव्यक्तिको विरोध
सत्ता साझेदार राष्ट्रिय जनमोर्चाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको गौर नरसंहार दोहोर्याउने अभिव्यक्तिको विरोध गरेको छ।
सरकारको जिम्मेवार मन्त्रीले यस्तो अभिव्यक्ति दिनु सही नभएको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
“सरकारको जिम्मेवार मन्त्रीले त्यस प्रकारको अभिव्यक्ति दिनु सही होइन,” अध्यक्ष केसीले भनेका छन्, “हामीले मन्त्री यादवको त्यस प्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौं।”
जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी यादवले ५ माघमा रौतहटको गौरमा पुगेर १५ वर्ष पहिलेको नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन्। २०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा २८ जना माओवादी समर्थकको हत्या गरेको थियो।
यसको विरोध गर्दै विभिन्न राजनीतिक दल, नागरिक समाज लगायतले हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्री यादवलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्न माग गरेका छन्।