उपत्यकामा आजदेखि यातायातमा जोर-बिजोर प्रणाली लागू
कोभिड-१९ सङ्क्रमण तीव्र भएपछि काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोर-बिजोर प्रणाली लागू गरिएको छ।
स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णय अनुसार जोर-बिजोर प्रणाली लागू गरिएको हो। काठमाडौं उपत्यकामा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सार्वजनिक र निजी सवारी साधन सञ्चालन हुने गरी यो प्रणाली लागू गरिएको हो।
प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ।
यसै गरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ। आदेश कार्यान्वयनका लागि आज बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँ-ठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै, अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोर-बिजोर प्रणाली लागू हुनेछैन। आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर-बिजोर प्रणाली लागू नहुने जनाएको छ।
यसै गरी खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ। यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक-सहचालक मात्र) सञ्चालन गर्न पाइनेछ।
परिचयपत्रका आधारमा ब्यांक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।
यस्तै, सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ।