‘निर्वाचन मिति अविलम्ब तय गर’
बृहत् नागरिक आन्दोलनले निर्वाचनको मिति तोक्ने विषयलाई सत्ता-स्वार्थको खेल नबनाउन आग्रह गरेको छ।
नागरिक आन्दोलनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह जनप्रतिनिधिविहीन हुनु अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने जनाएको छ। “निर्वाचनको कार्यतालिका पहिल्यै निश्चित गर्नु कुनै पनि लोकतान्त्रिक सरकारको संवैधानिक कर्तव्य हो,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचनबारे अलमल गर्नु र कुन तहको निर्वाचन कहिले गर्ने भनेर निर्वाचनलाई सत्ता-स्वार्थकेन्द्रित राजनीतिक दाउपेचको विषय बनाउनु संविधानप्रति बेइमानी र सार्वभौम जनताप्रतिको अनादर हुनेछ।”
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनभन्दा पहिला प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेको विषय सार्वजनिक भए लगत्तै नागरिक आन्दोलनले यस्तो अपील जारी गरेको हो। आगामी ५ जेठदेखि स्थानीय तहका जनप्रतिनिधिको पदावधि समाप्त हुने भए पनि दाहालले ६ महीना स्थानीय तह खाली गर्ने गरी चुनावको मिति प्रस्ताव गरेका हुन्।
नागरिक आन्दोलनले भने एक दिन पनि स्थानीय तह रिक्त राख्न नहुनेमा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “जनप्रतिनिधि थलोहरूलाई एकै दिन पनि रिक्त हुन नदिने तथा संसद्लाई पूर्ण कार्यकाल दिने गरी निर्वाचन कार्यतालिका अविलम्ब तय गर्न एवं त्यसै अनुसार कानूनी व्यवस्था गर्न हामी गठबन्धन सरकारलाई उसको संवैधानिक दायित्वबारे ध्यानाकर्षण गराउँदछौं।”