युनिसेफ सर्वेक्षण : बालबालिकाको शिक्षा र स्वास्थ्यको अवसर गुम्यो, अभिभावकले रोजगारी गुमाए
कोरोनाभाइरस महामारीको कारण गरिएको देशव्यापी बन्दाबन्दीले रोजगारी, स्वास्थ्य तथा शिक्षाको अवसर गुम्नुका साथै सार्वजानिक सेवाको पहुँचमा कमी आएर सामाजिक तथा आर्थिक जीवन कठिनाइपूर्ण भएको युनिसेफले सार्वजनिक गरेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा कोरोना महामारीमा बालबालिकाले शिक्षा र पौष्टिक आहारको पहुँच गुमाएको तथा अभिभावकले रोजगार गुमाएकाले खाद्य असुरक्षा बढेको उल्लेख छ। १८ वर्षभन्दा कम उमेरका बालबालिका र उनीहरूको घरपरिवारमा कोरोना महामारीले उत्पन्न गरेको अवस्थाको अनुगमन गर्न युनिसेफ नेपाल र शेयरकास्ट इनिसियटिभ नेपालले ‘चाइल्ड एन्ड फ्याम्ली ट्र्याकर’ राष्ट्रिय सर्वेक्षण गरेको थियो।
सन् २०२० देखि अहिलेसम्म आठ चरणमा गरिएको सर्वेक्षणमा ६ हजार परिवारका अभिभावक समेटिएका थिए। सर्वेक्षणमा बालबालिकाको पोषण, स्वास्थ्य र शिक्षाको पहुँच, उपचार, स्तनपान, गर्भवती महिलाको अवस्था जस्ता विषयमा अन्तर्वार्ता माध्यमबाट प्रश्न सोधिएका थिए।
सर्वेक्षण अनुसार, बालबालिका भएका ६० प्रतिशत घरपरिवारले आम्दानी र जीविकोपार्जनको माध्यम गुमाएका छन् भने गरीबीको स्थितितर्फ धकेलिने जोखिम भएका परिवारको सङ्ख्या ३० प्रतिशत छ। ६० प्रतिशत अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउन चिन्तित हुनुका साथै ८० प्रतिशत बालबालिका पढाइमा कमजोर भएको पाइएको सर्वेक्षणमा उल्लेख छ।
त्यस्तै, २१ प्रतिशत उत्तरदाताले भरपेट खानाका लागि दैनिक सङ्घर्ष गरिरहेको र ११ प्रतिशत परिवारका बालबालिकाले पहिलेको तुलनामा कम खाना खाने गरेको बताएका छन्। यसै गरी, १५ प्रतिशत उत्तरदाताले महिला तथा बालबालिकामाथि हिंसा बढेको बताएका छन् भने १० प्रतिशतले आफ्नो समुदायमा बालश्रम बढेको उल्लेख गरेका छन्।
यस्तै, ८४ प्रतिशतले कोभिड-१९ बाट बच्न मास्क नियमित लाउने गरेको बताएका छन् भने २१ प्रतिशतले खोप लगाएको बताएका छन्।