स्थानीय चुनावको प्रक्रिया शुरू गर्न जनप्रतिनिधिको माग
स्थानीय तहका जनप्रतिनिधिले तत्काल स्थानीय चुनावको प्रक्रिया शुरू गर्न सरकारसँग माग गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिका तीन वटा संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकारका हामी सबै जनप्रतिनिधिहरू समयमा नै आवधिक निर्वाचन सम्पन्न होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहन्छौं।”
गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जू श्रेष्ठ र समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले संविधान र विद्यमान कानून अनुसार पनि जेठभित्र चुनाव गरिसक्नुपर्ने स्मरण गराएका छन्।
उनीहरूले भनेका छन्, “संविधानको कार्यान्वयन र संघीयताको संस्थागत विकासका लागि तोकिएको समयमा नै आवधिक निर्वाचन गर्नुको विकल्प नभएकाले निर्वाचनको वातावरण सिर्जना गर्न निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको समेत गम्भीर ध्यानाकर्षण गर्दछौं।”
समय घर्किंदै गएको जनाउँदै तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। तीनै संस्थाले भनेका छन्, “निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तीमा १२० दिनको समय चाहिने बताइरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं।”
स्थानीय तहका जनप्रतिनिधिको पदावधि ५ जेठमा सकिंदै छ। त्यसको दुई महीनाअघि स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।