स्थानीय चुनावको प्रस्तावित मितिबारे पुनर्विचार गर्न मुस्लिम समुदायको आग्रह
निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको चुनावको मितिबारे पुनर्विचार गर्न नेपाल मुस्लिम संघले आग्रह गरेको छ।
निर्वाचन आयोगले ३० पुसमा आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी १४ र २० वैशाखमा गर्न प्रस्ताव गरेको थियो। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पनि आयोगको टोलीले यही मिति सुझाएको थियो।
यो समयमा मुस्लिम समुदायको रमजान व्रत तथा इद पर्व पर्ने भएकाले पुनर्विचार गर्न नेपाल मुस्लिम संघले आग्रह गरेको हो। संघका उपसभापति अताबुल मन्सुरीले प्रेस विज्ञप्ति जारी गरी १९ चैतदेखि २० वैशाखसम्म एक महीना मुस्लिम समुदायको रोजा उपासना र इद पर्व परेकाले प्रस्तावित निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि मुस्लिम समुदायलाई गाह्रो पर्ने जनाएका छन्।
त्यसैले प्रस्तावित मितिमा पुनर्विचार गर्न संघले निर्वाचन आयोग र सरकारसँग आग्रह गरेको छ। नेपाल मुस्लिम संघका निवर्तमान सभापति अब्दुल सतारले पनि यसमा पुनर्विचार गर्नुपर्ने बताए। नेपालको करीब पाँच प्रतिशत रहेको मुस्लिम समुदायका नागरिकलाई अहिले प्रस्तावित मितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि गाह्रो पर्ने उनको भनाइ छ।
सतारले भने, “मतदान गर्नै गाह्रो हुने त होइन, तर पनि महीना दिनसम्म उपासनाको पर्व परेकाले उम्मेदवार बन्न या निर्वाचन प्रचारकै लागि पनि समस्या हुने भएकाले यसलाई मध्यनजर गरी पुनर्विचार होस् भनी म निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गर्छु।”