सीईसीलाई पल्सरको साथ
बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने भएको छ।
यस सम्बन्धी कम्पनी र सीईसीबीच सम्झौता भएको छ। यो सम्झौतासँगै क्रिकेट एक्सिलेन्स सेन्टरको नाम परिवर्तन गरी पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर हुनेछ।
सम्झौता कार्यक्रममा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सीईसीसँग आबद्ध हुन पाउँदा खुशी लागेको बताए। “बजाज पल्सरले नेपालमा खेलकूदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटर उत्पादन गर्न मद्दत गर्नेछ,” गोल्छाले भने।
त्यस्तै, पूर्व कप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा खुशी लागेको बताए। गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले पूर्व कप्तानद्वय खड्का र ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन्।