प्रिन्स दाहाल विश्व वरीयताको शीर्ष स्थानमा
नेपाली खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन्।
विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको वरीयता अनुसार, १९ वर्षीय दाहाल १० हजार ४०० अङ्क बटुल्दै शीर्षस्थानमा उक्लिएका हुन्। उनी पहिलो पटक शीर्षस्थानमा पुग्न सफल भएका हुन्।
महासंघले जारी गरेको वरीयता अनुसार जुनियरतर्फ दोस्रो वरीयतामा मलेसियाका जस्टिन होह छन्। उनको ९ हजार ५९० अङ्क रहेको छ।
यस्तै, मलेशियाकै फाजरिक मोहमद रजिफ ६ हजार ९२५ अङ्क सहित तेस्रो स्थानमा छन्। फ्रान्सका एलेक्स लानिर ६ हजार ७०० अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम ६ हजार ३४० अङ्क सहित पाँचौं स्थानमा छन्।
विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए। उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुशी लागेको बताए। अबको ध्यान वरीयतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए।
नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको भनाइ छ। कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहालले बताए।
नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो। व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ।
ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए। दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ।
पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमै अध्ययनरत छन्। उनी हाल ललितपुरको लगनखेलस्थित पिनाकल कलेजमा कक्षा ११ मा अध्ययनरत छन्।
दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आबद्ध छैनन्। उनी सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन्।
२०७६ मंसीरमा जारी विश्व वरीयतामा दाहाल पहिलो पटक ३२औँ स्थानमा रहन सफल भएका थिए। त्यही वर्ष पुसमा जारी वरीयतामा उनी १४औँ स्थानमा तथा पुस अन्तिम साताको वरीयतामा दाहाल १०औँ स्थानमा उक्लिएका थिए।
त्यही वर्ष चैतमा महासंघले जारी गरेको वरीयतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल भएका थिए।
त्यति वेला दाहालभन्दा अब्बल डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर थिए। मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा थिए। विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको वरीयता सार्वजनिक गर्ने गरेको छ।
यस्तै, विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको महिला जुनियरतर्फको वरीयता अनुसार नेपालकी खेलाडी रसिला महर्जन १९औँ स्थानमा पर्न सफल भएकी छन्। (रासस)