जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टले वार्षिक ६० लाख सहयोग गर्ने
पाल्पा सिमेन्ट प्रालिले जलनपीडित बालबालिकाको उपचारका लागि वार्षिक रुपमा ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
काठमाडौंको साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्प्तालमा उपचार गराउने १८ वर्षभन्दा मुनिका बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले सहयोग गर्ने सम्झौता गरेको छ।
पाल्पा सिमेन्टका कार्यकारी निर्देशक राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवाल तथा अस्पतालको तर्फबाट डा. सन्तोष भण्डारी र सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
जलनपीडित बालबालिकाको उपचारमा खटिँदै आएका सामाजिक अभियन्ता थापाले विभिन्न संघसंस्था र व्याक्तिबाट सहयोग लिएर उपचारमा सहयोग जुटाउँदै आएका थिए।
पाल्पा सिमेन्टको यो सहयोगले जलन पीडित बालबालिकाको लागि अब धेरै दौडधुप गर्नु नपर्ने उनले बताए। “जलनपीडित बालबालिकाको उपचारको लागि योगदान गर्न पाउँदा खुशी लागेको छ,” थापाले भने।