पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको ताकेता, पहिलो ६ महीनामा १० प्रतिशत मात्रै खर्च
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका बाँकी ६ महीनामा जसरी पनि बजेटले छुट्याएको पुँजीगत रकम खर्च गर्न मन्त्रालयहरूलाई ताकेता गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठक राखेर अर्थमन्त्री शर्माले शतप्रतिशत पुँजीगत खर्च गर्न विभिन्न मन्त्रालयका सचिवलाई आग्रह गरेका हुन्।
उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै भने, “यो आर्थिक वर्षको बाँकी ६ महीनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्यो। रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न म तयार छु।”
मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्नु पर्ने बताए। उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए। ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ थियो।
त्यस्तै विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि मन्त्री शर्माले औंल्याए। उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने बताउँदै अब डिजिटल माध्यममा लैजानुपर्ने तर्क गरे। “फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई-चार दिन जान्छ। यहाँ पनि समय गइरहेको छ”, उनले भने, “यसलाई डिजिटल माध्यममा लैजानुपर्यो। डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो। टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ।”
पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ। यसैबीच, सोमबारसम्मको तथ्याङ्कअनुसार यो वर्षका छुट्याएको कूल पुँजीगत रकममध्ये ९.५५ प्रतिशत मात्रै खर्च भएको छ। यो आर्थिक वर्षमा पुँजीगत खर्चका लागि रु. ४ खर्ब ३९ अर्ब छुट्याइएकोमा २६ पुससम्ममा रु. ४१ अर्ब ९६ करोड मात्रै खर्च भएको छ।