भ्याट नतिर्नेमा कांग्रेस केन्द्रीय सदस्यदेखि महासंघ र चेम्बरकै उच्च पदाधिकारी (सूची सहित)
आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेका फर्म र कम्पनीको सूची सार्वजनिक गरेको छ। तत्काल बक्यौता कर तिर्न दबाब दिन आन्तरिक राजस्व कार्यालय बानेश्वर र पुतलीसडकले सूची निकालेका हुन्।
भ्याट बक्यौता भएका कम्पनी र फर्मलाई पत्राचार, टेलिफोन र संकलन भ्रमण गर्दासमेत रकम दाखिला नगरिएपछि १५ दिनभित्र बक्यौता रकम तिर्न आउन सूचना निकालिएको कार्यालयहरूले जनाएका छन्। बक्यौता कर नतिर्नेको सम्पत्ति र कारोबार रोक्का एवं लिलामी गरिने पनि सूचनामा उल्लेख छ।
समयमै मूल्य अभिवृद्धि कर नबुझाउनेको सूचीमा नाम चलेका व्यवसायीको फर्म र कम्पनी समेत छन्। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचनको कम्पनी युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले रु. १ करोड ४० लाख ९९ हजार भ्याट बुझाएको छैन। अरु विभिन्न कम्पनीसँग हिराचनको कम्पनीले गरेको साझेदारीका परियोजनामा पनि करोडौं भ्याट तिरिएको छैन। युनाइटेड र हिस्टोरिक कन्स्ट्रक्स जेभीले रु. २ करोड ४२ लाख भ्याट तिर्न बाँकी छ।
त्यस्तै, व्यवसायीको अर्को संस्था नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपककुमार मल्होत्राको स्पेशटाइम नेटवर्कले पनि रु. ४० लाख २९ हजार भ्याट नतिरेको सूचनामा उल्लेख छ।
राजनीतिमा लागेका कयौं निर्माण व्यवसायीले पनि भ्याट बुझाउन अटेर गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ लामाको कम्पनी लामा कन्स्ट्रक्सनसहित दि कन्चनजंघा कन्ट्रक्सन र डाँफे कन्ट्रक्सनले रु. २ करोड ८६ लाख भ्याट बुझाएको छैन। लामा कन्ट्रक्सनले डाँफे र गोल्डेनगुड कन्ट्रक्सनसँग गरेको साझेदारीमा पनि रु ५५ लाख २६ हजार भ्याट बुझाउन बाँकी छ।
त्यसैगरी, नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्ट्रक्सनसहितका अरु कम्पनी (साझेदारी)ले करोडौं भ्याट तिरेका छैनन्। कान्छाराम/डाँफे/शर्मा जेभीले रु. १ करोड ४२ लाख भ्याट तिर्न बाँकी छ।
कान्छाराम/डाँफे जेभीले ५१ लाख ६८ हजार भ्याट बुझाएको छैन। लामा र कान्छाराम जेभीले रु. ५२ लाख ३६ हजार भ्याट बुझाएको छैन। कान्छाराम मृत संजिवनी जेभीले रु. ३ करोड ३१ लाख भ्याट बुझाएको छैन। अरु कयौं साझेदारीमा पनि लामा र कान्छारामले भ्याट बुझाउन बाँकी छ।
अर्का कांग्रेस नेता जयराम लामिछानेको कम्पनी स्वच्छन्द निर्माण सेवाले पनि बाँनिया र द क्याराभान जेभीसँग मिलेर रु. ३८ लाख ६३ हजार भ्याट बुझाउन बाँकी छ। कांग्रेसकै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवाले पनि डाँफे कन्ट्रक्सनसँग मिलेर गरेको साझेदारीबाट रु. ३७ लाख २८ हजार तथा मिचीको एन्ड कम्पनीसँगको साझेदारीबाट रु. १९ लाख ३८ हजार भ्याट बुझाएको छैन। त्यस्तै, महादेव खिम्तीले अकेला जेभीसँग मिलेर रु. ४३ लाख २६ हजार बुझाउन बाँकी छ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाको कम्पनी हिम्दुङ एन्ड थोकरले धुकछु र कान्छारामसँग गरेको साझेदारी कामबाट रु. ५६ लाख ९० हजार भ्याट बुझाउन बाँकी छ।
पप्पु कन्ट्रक्सन, शर्मा एन्ड शर्मा, बिरुवा लगायतका दर्जनौं कम्पनीले पनि भ्याट बुझाउन बाँकी छ।
व्यवसायी राकेशकुमार अग्रवाल, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी, होटल ल्यान्डमार्क लगायतका ३५२ कम्पनीले करोडौं भ्याट बुझाउन बाँकी छ ।
भ्याट बुझाउन बाँकी रहेको सूचीमा एभेन्युज टिभी, बिजमान्डू प्रालि र एबीसी मिडिया समूह सहितका मिडियाहरु पनि छन्।