कलंकी-चाबहिल सडकलाई मानवमैत्री बनाउन सरोकारवालाको अपील
उपत्यकालाई जोड्ने चक्रपथको कलंकी-चाबहिल सडकखण्ड अपाङ्गतामैत्री, साइकलमैत्री र पैदलयात्रीमैत्री नभएको भन्दै रिङरोड नागरिक सरोकार समितिले सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई ज्ञापनपत्र बुझाउँदै समितिले अहिले बन्न लागेको कलंकी-चाबहिल सडकखण्डको डिजाइनलाई मानवमैत्री बनाउन आग्रह गरेको छ। समितिले मोटरजन्य साधनलाई मात्र ध्यान दिएर बनाइएको कलंकी-कोटेश्वर सडकखण्डमा धनजनको क्षति धेरै भएको र अब बन्ने सडकमा सबै नागरिकलाई सहज हुने खालको डिजाइन बनाउनुपर्नेमा जोड दिएको छ।
विभिन्न नागरिक समाज तथा संस्थाबाट प्रतिनिधि रहेको समितिले सडक सुरक्षा अडिट रिपोर्टले दिएको सुझाव अनुसार, गम्भीर त्रुटि सच्याउन, सडक सुरक्षाका लागि विज्ञ सहित संलग्न आवश्यक तहगत बहस, छलफल तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न माग गरेको छ।
त्यस्तै, सुरक्षित सडकको प्रयोगमा न्यायोचित पहुँच पुर्याउन आवश्यक ऐन-नियम निर्माण तथा कार्यक्रमको कार्यान्वयनमा पहल गर्न माग गरेको छ। माग सुनुवाइ नभए आन्दोलनमा उत्रिने पनि समितिले चेतावनी दिएको छ।
ज्ञापनपत्र बुझाउन गएका स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका महासचिव केशव थापाले ह्वीलचियरमा बाटो काट्न तथा आफ्नो लेन नभएका कारण मोटरको लेनबाट यात्रा गर्दा ज्यानको खतरा रहेको बताए।
थापाले भने, “सबै सडक मोटरमैत्री मात्र भएका कारण पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकलयात्रीलाई अन्याय भएको छ। हाल सडक बनाउँदा हामी जस्ता व्यक्तिलाई पनि मध्यनजर गरी मानवमैत्री सडक बनाइए खतरा मोल्दै यात्रा गर्नु पर्दैन।”