महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, १०० मत गन्दा थापाले ७० र शर्माले ३४ मत पाएका छन्।
त्यस्तै, महामन्त्रीका उम्मेदवारहरू प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७ र मिनेन्द्र रिजालले २१ मत पाएका छन्। अहिलेसम्म अर्का उम्मेदवार राजाराम कार्कीले कुनै मत पाएका छैनन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा महामन्त्रीको मतगणना भइरहेको छ। पहिलो र दोस्रो हुने महामन्त्रीमा निर्वाचित हुनेछ।
कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेको छ। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।
यसअघि उपसभापतिको पनि सानेपामै मतगणना भएको थियो। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।