कोरोनाको नक्कली रिपोर्ट बनाउने गंगालालका ल्याब प्रमुखलाई बर्खास्त गर्न सिफारिश
कोरोनाभाइरस परीक्षणको नक्कली रिपोर्ट बनाएर बिक्री गरेको प्रमाणित भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका प्रयोगशाला प्रमुख समेत रहेका वरिष्ठ ल्याब टेक्नोलोजिस्ट विनोदकुमार यादवलाई बर्खास्त गर्न सिफारिश गरिएको छ।
केन्द्रको सञ्चालक समितिले गठन गरेको विभागीय सजायको आदेश दिने उपसमितिले १९ मंसीरबाट लागू हुने गरी बर्खास्त गर्न सिफारिश गरेको हो।
कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेका वेला ल्याब प्रमुख यादवले पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाउने र बिक्री गरेको पाइएको थियो। त्यसपछि शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र सञ्चालक समितिको २८ साउनमा बसेको बैठकले विभागीय सजायको आदेश दिनका लागि उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले बुझाएको प्रतिवेदनमा ‘भविष्यमा केन्द्रको सेवाका लागि अयोग्य नठहरिने गरी’ जागीरबाट निष्कासनको सजाय तोकिएको उल्लेख छ।
उपसमितिमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव मानबहादुर बस्नेतका अनुसार, यादवलाई जागीरबाट बर्खास्त गर्न सिफारिश गरिएको छ। “उजुरी परेको आधारमा सम्पूर्ण प्रमाणहरू विश्लेषण गर्दा उनी दोषी रहेको पाइयो। सजाय किटान गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडा र निमित्त स्वास्थ्यसचिव डा. गुणराज लोहनीलाई प्रतिवेदन सहित जानकारी गराएका छौं,” बस्नेतले भने।
केन्द्रका सञ्चालक समितिका सदस्य विजय राईको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। त्यसमा स्वास्थ्य मन्त्रालयका कानून उपसचिव बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. शंकर काफ्ले सदस्य थिए।
यस्तो थियो घटना
कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि नै बसुन्धाराको धौलागिरी क्लिनिकबाट स्वाब सङ्कलन र गंगालाल हृदयरोग केन्द्रमा परीक्षण गरी गलत रिपोर्ट दिएको भनी यादवविरुद्ध पीडितले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा दिएका थिए।
उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा यादवले धौलागिरी क्लिनिकको नामबाट बिल काटेर गंगालाल हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पतालको ल्याब रिपोर्ट दिने गरेको फेला पारेको थियो।
यसरी रिपोर्ट दिए बापत उनले एक जनाको दुई हजार पाँच सय रुपैयाँ लिने गरेको पाइएको थियो। उनी विरुद्ध उजुरी परेपछि तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले छानबिन गर्न निर्देशन दिएका थिए।
स्वास्थ्यमन्त्री त्रिपाठीको निर्देशन अनुरूप अस्पतालका निर्देशक डा. अधिकारीले अस्पतालका चिकित्सक डा. आशेषगोपाल अमात्यको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक छानबिन समिति बनाएका थिए। यादवले संस्थाको लेटरप्याडको दुरूपयोग गर्दै नक्कली कागजात तयार गरी सङ्क्रामक रोग फैलाउने काम गरेको ठहर गर्दै समितिले तीन महीना निलम्बन गरी स्पष्टीकरण सोधेको थियो।
उनले स्वाब सङ्कलन गरेर परीक्षण नै नगरी ‘फोटोशप’ गरेर रिपोर्ट दिएको महाराजगञ्ज प्रहरी प्रभागको अनुसन्धानमा खुलेको थियो। उनको कम्प्युटरको अभिलेख हेर्दा ३० देखि ४० लाख रुपैयाँ बराबरको नक्कली रिपोर्ट बनाएको हुन सक्ने भन्दै महाराजगञ्ज प्रहरीले कारबाही गर्न सिफारिश उपसमितिलाई रिपोर्ट दिएको थियो।
अस्पतालले तीन महीना निलम्बन र कारबाही सिफारिश गरेपछि यादवले आफ्नो निलम्बनको कारबाही विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। तर, अदालतले उनको मुद्दा खारेज गरेको थियो।