राष्ट्रिय सम्मेलनको तयारी गर्न माओवादीले बनायो चार समिति
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी गर्न विभिन्न समिति गठन गरेको छ।
माओवादी स्थायी समितिले बैठकले राष्ट्रिय सम्मेलनमा केन्द्रित रहँदै विभिन्न निर्णय गरेको छ। योसँगै सम्मेलनको तयारीका लागि समिति पनि गठन गरेको हो।
बैठकले देव गुरुङको नेतृत्वमा विधान परिमार्जन समिति गठन गरेको छ। समितिमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव सदस्य छन्। यो समितिले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने विधानको आवश्यक परिमार्जन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले मातहतका निकायलाई पठाएको परिपत्रमा उल्लेख छ।
त्यस्तै, गिरिराजमणि पोखरेलको नेतृत्वमा समसामयिक प्रस्ताव तयार गर्न समिति बनाएको छ। यस समितिको सदस्यमा शक्तिबहादुर बस्नेत र गणेश साह छन्।
हितमान शाक्यको नेतृत्वमा राष्ट्रिय सम्मेलन व्यवस्थापन समिति गठन गरेको छ। यसमा डिलाराम आचार्य, नारायण दाहाल, सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य छन्। यसै गरी, कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन गरेको छ।
यससँगै अध्यक्ष दाहालको नेतृत्वमा सरकार र माओवादीको कामलाई व्यवस्था गर्न समिति गठन गरिएको छ। हरिबोल गजुरेल सचिव रहेको यो समितिमा देव गुरुङ र लीलामणि पोखरेल सदस्य छन्। सरकारमा सहभागी माओवादीका पाँचै जना मन्त्री पनि यो समितिका सदस्य रहने स्थायी समितिले निर्णय गरेको छ।
माओवादीको राष्ट्रिय सम्मेलन ११ देखि १३ पुसमा काठमाडौंमा हुने तय गरिएको छ। यसका लागि मंसीरभित्र प्रतिनिधि छनोट गर्न सबै केन्द्रीय विभागलाई निर्देशन समेत दिएको छ।