उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास ब्यांकको सहयोग
ज्योति विकास ब्यांकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित श्री यान्जेर गुम्बा विद्यालयका विद्यार्थीलाई हिमालयन डेभलपमेन्ट इनिसिएटिभ (एचडीआई)को ‘प्रोजेक्ट ज्योति’ मार्फत रु.२ लाखको आर्थिक सहयोग गरेको छ।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसिएटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
एचडीआईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्युतीय माध्यमद्वारा चार्ज हुने बत्ती प्रदान गरेको छ।
‘प्रोजेक्ट ज्योति’ नाम दिइएको यस परियोजनामा एचडीआई र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरी जडान समेत गरिनेछ। पावर वालले दिनमा बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्नेछ। एचडीआई नेपालको हिमाली क्षेत्रका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने गैरसरकारी सङ्गठन हो।