प्यानल सहित ध्रुव थापा नाडा अध्यक्षमा प्रतिस्पर्धा गर्दै
अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को आगामी निर्वाचनका लागि ध्रुव थापाले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन्।
‘अब बनाउनु छ नाडा, सबै अटोमोबाइल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ बिहीबार काठमाडौंमा थापाले प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन्।
थापाले नाडाको प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने लगायत विषयमा जोड दिएका छन्।
उम्मेदवारी घोषणा गर्दै थापाले नाडाको आफ्नै भवन बनाउन पहल गर्ने, नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता जस्ता विषय तत्काल शुरूआत गर्ने बताए। उनले भने, “डाटा हब निर्माण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता पनि गर्दछु।”
थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमिति सदस्य आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल शिवाकोटी, यमुना श्रेष्ठ, अमर ज्योति, नारायण पौडेल, प्रकाश सिग्देल, सञ्जयकुमार खेतान, शुभाशिष थपलिया लगायत छन्।
त्यसै गरी व्यवसायी करण चौधरीले पनि प्यानल सहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनील रिजाल, निशान ढकाल, देवराज भण्डारी, गोपाल भट्टराई लगायत छन्।
२२ र २३ मंसीरमा नाडाको साधारण सभा हुँदैछ। साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुनेछ।