हिमालकर्मी न्यौपानेलाई सेजन अवार्ड
यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार (सेजन अवार्ड) हिमालखबरका समाचार प्रमुख रमेशकुमार न्यौपाने र अन्नपूर्ण पोस्टकी पत्रकार सुनिता कार्कीले प्राप्त गरेका छन्।
न्यौपानेले विद्युतीय सञ्चार माध्यमतर्फको अवार्ड प्राप्त गरेका हुन् भने कार्कीले छापातर्फको अवार्ड पाएकी हुन्। दुवै अवार्डकाे पुरस्कार राशि रु.५० हजार छ।
न्यौपानेले हिमालखबरमा सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालको पारिवारिक सदस्यका नाममा कानून विपरीत र अनैतिक रूपमा किनिएको प्रकरणको खुलासा गरेका थिए।
निरन्तरको फलोअपपछि सरकारले बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेको थियो भने स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउद र बोर्ड सदस्य ढकालले पदबाट राजीनामा दिनुपरेकाे थियाे।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापना भएको २५ वर्षको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको हो। अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण गरेका थिए।
यस्तै, सञ्जय न्यौपाने फेलोसिप कारोबार दैनिककी पत्रकार सरस्वती ढकालले प्राप्त गरेकी छन्। नागरिक दैनिकका पत्रकार हिमाल लम्सालले सेजन–हाइड्रो सोलुसन फेलोसिप पाएका छन्।
सेजनले अर्थशास्त्री डा. अच्युत वाग्ले र राजीव उपाध्यायलाई पनि सम्मान गरेको छ।