मदिराको विज्ञापनमा लगाएको रोकप्रति पाँच संस्थाको आपत्ति
विज्ञापन बोर्डले मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा लगाएको रोकप्रति पाँच संस्थाले आपत्ति जनाएका छन्।
विज्ञापन बोर्डले जनस्वास्थ्य ऐन अनुसार, स्वास्थ्यमा प्रतिकूल असर पर्ने सामग्रीको विज्ञापन उत्पादन, वितरण तथा प्रचारप्रसारमा रोक लगाएको छ।
नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फूटबल संघले संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको निर्णय सच्याउन माग गरेका हुन्।
“मदिराको विज्ञापन निश्चित परिधिभित्र रही गर्न पाइने नियम विश्वका अधिकांश देशमा छ,” विज्ञप्तिमा भनिएको छ, “मदिरालाई खाद्य वस्तुकै रूपमा लिने र नेपालमा पनि खाद्य ऐनले नै नियमन गर्ने गरेकाले पूर्ण बन्देज लगाउनु गलत हो।”
नेपाली कम्पनीले गर्न नपाए पनि विदेशी मिडिया वा सामजिक सञ्जाल मार्फत विज्ञापन भइरहेको पाँच संस्थाले बताएका छन्।
नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चार माध्यमले कुनै पनि स्थान र माध्यमबाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्रान्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रूपमा आफ्नो ब्रान्डको प्रवर्द्धन गर्न पाउने अवस्थाले स्वदेशी लगानी र ब्रान्डमा समेत असर गर्ने विज्ञप्तिमा जनाइएको छ।
यी संस्थाले निजी क्षेत्रलाई प्रतिकूल प्रभाव पार्ने किसिमको निर्णय अविलम्ब फिर्ता हुनुपर्ने माग पनि राखेका छन्।