किन विद्रोह गर्यौं, चितवनको तमासा पर्याप्त छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को महाधिवेशनमा देखिएका गतिविधिले विद्रोह ठीक रहेको पुष्टि गरेको बताएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चितवनमा ‘तमासा’ चलिरहेको बताएका छन्। “हामीले कम्युनिष्ट आन्दोलनमा विद्रोह गरेका छौं, नेकपा (एमाले)बाट विद्रोह गर्यौं। किन विद्रोह गर्यौं, त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ।”
चितवनको सौराहामा एमालेको १४औं महाधिवेशन चलिरहेको छ। महाधिवेशनको बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सहित ३०१ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका थिए। त्यसको भीम रावल र घनश्याम भुसालले विरोध गरेपछि मात्रै आज निर्वाचन प्रक्रिया थालिएको छ।
त्यसलाई इङ्गित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेमा फरक मतको अपमान भएको बताए। “चितवनमा फरक मत राख्ने व्यक्तिहरूमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौं, त्यो नै पर्याप्त छ,” नेपालले भने।
जनताको बहुदलीय जनवादको कुरा गरे पनि एमाले दक्षिणपन्थी बाटोतर्फ लागेको नेपालको भनाइ थियो। “जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहस सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा (एमाले) कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ,” नेपालले भने।