कांग्रेस गण्डकीको सभापतिमा शर्माको उम्मेदवारी
नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले गण्डकी प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पोखरामा सोमबार आयोजित कार्यक्रममा उनले कांग्रेसलाई क्रियाशील बनाउन उम्मेदवारी घोषणा गरेको बताए।
“कांग्रेसभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभई राष्ट्रलाई समेत असर परेको छ,” शर्माले भने, “ती अव्यवस्थालाई हटाउँदै सङ्गठन मजबूत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसलाई विजयी गराउन उम्मेदवारी दिन लागेको छु।”
उनी यसअघि २०४६ देखि २०६१ सम्म कांग्रेस कास्कीको सभापति भएका थिए। उनले २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य, २०२६ मा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिव लगायत विभिन्न पदमा रही काम गरेका छन्।