ओमिक्रोनबाट जोगिन नेपाललाई सचेत गराइएको छ: विश्व स्वास्थ्य सङ्गठन
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट जोगिन नेपाललाई सचेत गराइएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
सङ्गठनका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले भिडियो सन्देश मार्फत नेपाल पनि उत्तिकै जोखिममा रहेको भन्दै सचेत रहन सरकारको ध्यानाकर्षण गराएको बताएका हुन्।
“ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई सचेत गराएका छौं,” उनले भने, “अत्यावश्यक सामग्रीका साथ अस्पतालहरूलाई पनि तयारीमा राख्न सरकारको ध्यानाकर्षण गरेका छौं।”
यो भेरियन्ट तुलनात्मक रूपमा छिटो सर्ने प्रारम्भिक अध्ययनले देखिएको उनको भनाइ छ। विस्तृत विवरण पत्ता लगाउन दक्षिण अफ्रिका लगायत विश्वभर अध्ययन भइरहेको पाण्डवले बताएका छन्।
हालसम्म यसको सङ्क्रमण र मृत्युदर उच्च पाइएको छ। डा. पाण्डवका अनुसार, कोराना विरुद्ध बनेका खोपले ओमिक्रोन सर्नबाट जोगाउन र मृत्युदर कम गर्न सघाउँछ वा सघाउँदैन भन्ने विषयमा अध्ययन भइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसको नतीजा केही हप्तामै सार्वजनिक गर्ने उनले बताए।
कोरोनाका अन्य भेरियन्ट जस्तै यसबाट जोगिन पनि मास्कको प्रयोग, भौतिक दूरी र साबुनपानीले हात धुन विश्व स्वास्थ्य सङ्गठनले अनुरोध गरेको छ।