चालू आर्थिक वर्षको पहिलो चार महीनामा रु.१ खर्ब ४५ अर्बको कृषिजन्य वस्तु आयात
कृषिप्रधान भनिने गरेको नेपालमा विदेशबाट कृषिजन्य वस्तुको आयात थप चुलिंदै गएको छ।
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महीना (कात्तिक मसान्तसम्म)मा नेपालले विदेशबाट रु.१ खर्ब ४५ अर्ब ५८ करोड मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको हाे।
यो गत वर्ष यही अवधिकाे तुलनामा करीब ५५ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको कात्तिकसम्ममा रु.९४ अर्ब १९ करोडको कृषिजन्य वस्तुको आयात भएको थियो।
यद्यपि, यसबीचमा नेपालले रु.५७ अर्ब ९८ करोडको कृषिजन्य वस्तु निर्यात पनि गरेको छ। खासगरी, विदेशबाट भटमासको तेल, पाम आयल आदि आयात गरी सामान्य प्रशोधन मार्फत निर्यात गरेको कृषिजन्य वस्तुको आयात र निर्यात दुवै बढेको देखिएको हो।
भन्सार विभागको तथ्याङ्क अनुसार, चालू आर्थिक वर्षको पहिलो चार महीनामा अन्न मात्रै रु.२२ अर्ब ५७ करोडको आयात भएको छ। गत वर्षको यही अवधिमा तुलनामा अन्नको आयात केही घटेको हो। गत वर्षको यही अवधिमा रु.२५ अर्ब २ करोडको अन्न आयात भएको थियो। तर, तरकारी, फलफूल लगायत अन्य कृषिजन्य वस्तुको आयात भने बढेको छ।
यो वर्ष कात्तिकसम्ममा रु.१६ अर्ब १० करोडको तरकारी आयात भएको छ। गत वर्षको यही अवधिमा तरकारीको आयात रु.१२ अर्ब ९० करोड थियो।
त्यसैगरी, चालू आर्थिक वर्षको कात्तिकसम्ममा करीब रु.९ अर्ब ४४ करोडको फलफूल र काजुबदाम, रु.३ अर्ब ८१ करोडको चियाकफी र मसला, रु.५६ अर्ब २४ करोडको घ्यूतेल उत्पादन गर्न मिल्ने कृषिजन्य वस्तु, ३ अर्ब ७८ करोडको चिनी र चिनीजन्य वस्तु, रु.१० अर्ब ४५ करोडको तेल बनाउन मिल्ने प्राकृतिक दाना (तोरी, भटमास आदि) आयात भएको छ।
भन्सार विभागका अनुसार, कात्तिकसम्ममा नेपालले विदेशबाट रु.६ खर्ब ५० अर्बको वस्तु आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ६१.५७ प्रतिशत धेरै हो। तर, यो अवधिमा निर्यात भने ८२ अर्ब १२ करोडको मात्रै छ।
आयात धेरै, निर्यात कम भएपछि चालू आर्थिक वर्षको पहिलो चार महीनामै नेपालले वैदेशिक व्यापारमा रु.५ खर्ब ६८ अर्ब घाटा व्यहोरिसकेको छ। आयात चुलिंदै गएपछि पछिल्लो समयमा नेपालको शोधनान्तर स्थिति र चालू खाता घाटामा छन्।