राष्ट्र ब्यांकको सर्वेक्षण : कोभिड–१९ को मारमा परेका अधिकांश व्यवसाय सञ्चालनमा
कोभिड–१९ महामारीको मारमा परेका व्यवसायहरूमध्ये अधिकांश सञ्चालनमा आएको नेपाल राष्ट्र ब्यांकले गरेको अध्ययनले देखाएको छ।
राष्ट्र ब्यांकले गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षणले २०७७ असारकोे तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा व्यापक सुधार आएको देखाएको हाे।
सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ। २०७७ असारमा केन्द्रीय ब्यांकले गरेको यस सम्बन्धी पहिलो सर्वेक्षणले बन्दाबन्दी अवधिमा ४ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो।
गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको देखिएकोमा अहिले २.३ प्रतिशत उद्योग/व्यवसाय मात्र सञ्चालन हुन नसकेको पाइएको केन्द्रीय ब्यांकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
कोभिड पूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति २०७८ कात्तिकमा सर्वेक्षण गर्दा ७४.७ प्रतिशत पुगेको र रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको राष्ट्र ब्यांकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र ब्यांकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीबाट तथ्याङ्क सङ्कलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो।
सो सर्वेक्षणले बन्दाबन्दी पश्चात् औसतमा ६१ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको देखाएको थियो। त्यसैगरी २०७७ मंसीरमा गरिएको प्रथम पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको, ३७ प्रतिशत उद्योग/व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेकाे र ९ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा बन्द रहेको देखाएको थियो।
२०७८ वैशाखमा गरिएको दोस्रो पुनरावृत्ति सर्वेक्षणले भने ८१.२ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग/व्यवसाय आंशिक सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा बन्द रहेको देखाएको थियो।