वीरगञ्जमा राति १० बजेपछि बाजा बजाउन रोक
वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि बाजा बजाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले ध्वनि प्रदूषण रोक्ने भन्दै राति १० बजेपछि डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाएको हो। विवाह, व्रतबन्ध सहित विभिन्न मेला महोत्सवको बहानामा सडकमा गीत–संगीत तथा नृत्य गरेर होहल्ला मच्चाइने गरेकाले रोक लगाउनुपरेकाे पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुन सक्ने विकृति-विसङ्गति रोक्न यस्ताे निर्णय गरिएको प्रजिअ ढकालको भनाइ छ।
त्यस्तै, वीरगञ्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण गर्न धर्मशाला, होटल, पार्टी प्यालेसले नै सुरक्षा गार्ड राख्नुपर्ने निर्णय गरिएको छ। धर्मशाला, होटेल, पार्टी प्यालेसलाई जिम्मेवार बनाउन यस्तो कदम चालिएकाे ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए। (रासस)