एनसेलको स्वास्थ्य कार्यक्रमले पायो दुई अवार्ड
एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा शुरू गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमले दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको हो।
कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासंघले काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अवार्ड हस्तान्तरण गरेका थिए।
वर्ल्ड इन्फर्मेशन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एशियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेशन (एसोसीओ)मा क्यान महासंघले नेपालको प्रतिनिधित्व गर्दछ।
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड एनसेलले मेरिट विनरका रूपमा ई–हेल्थ सोलुसन अवार्ड विधा अन्तर्गत जितेको हो।
त्यस्तै, एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको थियो।
टेलिमेडिसिन सेवा कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रमा लागू गरिएको छ।
अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले एनसेलसँगको सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो जित भएको बताएका छन्। यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने अस्पतालको योजना रहेको मकाजुले बताए।