प्रधानमन्त्रीको तस्वीर बोकेर जिल्ला प्रशासनमा धर्ना
प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर बोकेर अधिकारकर्मीले शनिबार पनि जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका छन्।
बाँकेका दुई महिलालाई न्याय दिन माग गर्दै उनीहरूले शनिबार पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन्। उनीहरूले आठ दिनदेखि प्रशासनमा धर्ना दिंदै आएका छन्।
बेपत्ता रहेकी बाँकेकी निर्मला कुर्मी र घरेलु हिंसापीडित नानकुन्नी धोबीलाई न्याय दिन माग गर्दै यसअघि काठमाडौंमा धर्ना दिएका थिए। त्यसपछि सरकारले दुवै घटनाको छानबिन गर्न समिति गठन गरेको थियो।
सरकारी समितिले स्थलगत अध्ययन गरेर प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाइसकेको छ। त्यो प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरूले २७ कात्तिकदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिंदै आएका छन्।
उनीहरू प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँणको तस्वीर बोकेर प्रदर्शन गरिरहेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन दुवै जनाको तस्वीर बोकेको उनीहरूले बताएका छन्।
सरकारी छानबिन समितिले दुवै घटनाको पुनः छानबिन गर्न सिफारिश गरेको छ। यससँगै पूर्व सांसद बादशाह कुर्मीमाथि पनि छानबिन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ।
बाँकेका अधिकारकर्मी महिलाहरूले पूर्व सांसद कुर्मीलाई पनि पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै आएका छन्। माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने अधिकारकर्मी रुबी खानले बताइन्।