कोभिडका कारण अभिभावक गुमाएका १६९ बालबालिकाको व्यवस्थापन गरिने
राष्ट्रिय बालअधिकार परिषद्ले कोभिड–१९ का कारण अभिभावकविहीन १६९ बालबालिकाको व्यवस्थापन शुरू गरेको छ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार आयोजित नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन सार्वजनिक कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयंसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताए।
राज्यले अभिभावकत्व ग्रहण गर्ने नीति अनुसार बालबालिकाको खोजी गरिएको धरेल बताउँछन्। उनले भने, “बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार तथा सुदृढीकरण गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबूत बनाउन जरुरी छ।”
बालबालिका सम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्था अनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको धरेलले बताए। उनले भने, “स्थानीय तहमा बाल कल्याण अधिकारीको नियुक्ति गरेर बालकोषको स्थापना गर्नुपर्छ।”
मन्त्रालयका उपसचिव शान्तिराज प्रसाईंले स्थानीय तहमा बाल मनोविज्ञ राख्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए। (रासस)